रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी
काठमाडाैं | कात्तिक २२, २०८१
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ ।
पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताउनुभयो ।
संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताउनुभयो । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ ।
यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ । उहाँले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिनुभयो ।
“सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो ।
उहाँले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पार्नुभयो । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ ।
संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । “उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ”, उहाँले भन्नुभयो ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म ...

